Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


धनकुटामा किसानलाई अनुदान हैन सापटी, नक्कली किसान जिल्ल


0
Shares

-कविराज घिमिरे /ईमेज 

धनकुटा । अनुदानका लागि कृषि पेशा अँगाल्ने तर अनुदान पाएपछि भने यसबाट पलायन हुने प्रवृत्ति बढ्दै गएको छ ।

यस्तै प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अनुदान रकम कटौती गरी उद्यमी किसानलाई सापटी दिने नियम लागू गरेको छ ।

अनुदानले उत्पादन र आत्मनिर्भरता बढाउन नसकेको भन्दै धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अनुदान हटाएर बिनाधितो र बिना ब्याज सापटी रकम उपलब्ध गराउन सुरु गरेको छ ।

मिहिनेती कृषकहरुलाई गाउँपालिकाले कृषि व्यवसाय प्रवद्र्धन कोषमार्फत् मसला, फलफूल, पशुपालनका लागि निव्र्याजी र बिनाधितो ऋण उपलब्ध गराउनेछ ।

जसमा लागतको ५० प्रतिशतसम्मको सापटी रकम उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको भनाइ छ ।

खाद्यान्न र तरकारीमा एक बर्ष तथा फलफुल, चिया, अलैंची र पशुपालनका लागि लिएको सापटी ऋण किसानले किस्ताबन्दीमा पाँचबर्षभित्र गाउँपालिकालाई फिर्ता गर्नुपर्ने प्रावधान छ ।

प्राकृतिक प्रकोप र बजार अभावका कारण उत्पादनमा क्षति हुन पुगे किसानले शोध भर्नाबापत् लागत मूल्यको ३० प्रतिशत रकम पाउने पनि व्यवस्था गरिएको छ ।

क्षतिपुर्तिका लागि भने पशु र बाली बिमा अनिवार्य गराउनुपर्ने हुन्छ । गाँउपालिकाले चालेको यो कदमले वास्तविक कृषकलाई सहयोग पुर्‍याउने कृषि अभियन्ता जीवन राईको विश्वास छ ।

गाउँपालिकाले वास्तविक किसानलाई लक्षित गरेर ल्याएको नीतिप्रति गाउँपालिकावासी पनि उत्साहित भएका छन् ।

यसबाट पनि  गाँउपालिकाले उपलब्ध गराएकोे ऋण दुरुपयोग हुन सक्ने भएकाले यसतर्फ पनि सचेत हुनुपर्ने सरोकारवालाको भनाइ छ ।