Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


अष्ट्रेलियामा नेपाली युवालाई कोरोना भाइरस


0
Shares

काठमाडौं । नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अष्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ ।

सिंगापुरमा लामो ट्रान्जिट हुँदैं अष्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ ।

ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ ।

अष्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए ।

हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए ।

उनले भने, “हामीले नेपाली दूतावाससँग ती व्यक्तिको विस्तृत विवरण मागेका छौं, हामीले मागेको विवरण प्राप्त भएपछि मात्रै विस्तृत भन्न सक्छौं ।”

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि संक्रमित व्यक्तिको पहिचान खुलिनसकेको बताए ।

ती व्यक्ति नेपालमा कहाँ बसेका थिए भन्ने खोजी भइरहेको र विश्व स्वास्थ्य संगठनले उनीबारे जानकारी लिन थालेको पनि कोइरालाले बताए । नयाँ पत्रिका दैनिकबाट ।