Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


युक्रेनी राष्ट्रपतिद्वारा पुनिटसँग वार्ताको लागि आह्वान, भने– ‘जनताको मृत्यु रोक्न वार्ताको टेबलमा बसौं’

वार्ताका लागि बेलारुसमा प्रतिनिधि पठाउन रुस तयार

13.9k
Shares

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको लागि आह्वान गरेका छन् ।

‘म रुसी संघका राष्ट्रपतिलाई फेरि एकपटक सम्बोधन गर्न चाहन्छु,’ शुक्रबार भिडियोमा रुसी भाषामा बोल्दै जेलेन्स्कीले भने, ‘अहिले युक्रेनभरि लडाईं भइरहेको छ, जनताको मृत्यु रोक्न वार्ताको टेबलमा बसौं ।’

राष्ट्रपति जेलेन्स्कीले रूस विरुद्ध अन्तर्राष्ट्रिय अझै कडा प्रतिबन्ध लगाएर रुसलाई गलाउनसमेत युरोपियन युनियनलाई आग्रह गरेको छ । उनले युरोपका मानिसहरूलाई पनि प्रत्यक्ष अपील गरेका छन् ।

‘बाहिर स्क्वायरमा निस्कनुहोस्, यो युद्धको अन्त्यको माग गर्नुहोस्, यो तपाईंको अधिकार हो, जब कीभमा बम खस्छ, यो युक्रेनमा मात्र होइन युरोपमा भइरहेको छ’ उनले भने, ‘जब क्षेप्यास्त्रहरूले हाम्रा मानिसहरूलाई मार्छन्, यो सबैको हत्या हो, सबै युरोपेलीहरूको ।’

उनले युक्रेनका लागि थप आर्थिक र सैन्य सहायता प्रदान गर्न पनि युरोपेली नागरिकसँग आग्रह गरेका छन् ।

‘तपाईंका सरकारहरूलाई युक्रेनका लागि थप आर्थिक र सैन्य सहायता प्राप्त गर्न अनुरोध गर्नुहोस्,’ उनले भने, ‘किनभने यो मद्दत तपाईंको लागि, युरोपको लागि मद्दत हो ।’

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शुक्रबार भएको टेलिफोन कलमा पुटिनले आफू युक्रेनसँग उच्चस्तरीय वार्ता गर्न इच्छुक रहेको बताएको चिनियाँ राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पठाएको पत्रमा अनुसार रुसले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न प्रतिनिधि पठाउन तयार भएको रुसी राज्य समाचार एजेन्सीले जनाएको छ ।

मिन्स्कलाई कुराकानीको लागि प्लेटफर्मको रूपमा रोजिएको पत्रमा उल्लेख छ ।