Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


तेह्रथुमको चिङलिङ पोखरी संरक्षणमा सरकारको बेवास्ता, पुरानो संरचनामा डोजर चल्यो


0
Shares

प्रकाश लिम्बू /ईमेज 

तेह्रथुम । स्थानीय सरकारले विकास निर्माणका नयाँ कार्यक्रमलाई प्राथमिकतामा राखे पनि ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाको संरक्षणमा भने उदासीन देखिएका छन् ।

जसबाट तेह्रथुमको ऐतिहासिक महत्वको प्रसिद्ध पर्यटकीय स्थल चिललिङ पोखरी पनि प्रभावित भएको छ । नयाँ विकासे आयोजनाका नाममा विभिन्न पर्यटकीय र ऐतिहासिक सम्पदाको अस्तित्व धरापमा पर्ने खतरा देखिएको छ ।

सोही प्रवृत्तिको शिकार बनेको छ तेह्रथुमको चिङलिङ पोखरी पनि । फेदाप गाउँपालिकाको ओयाक्जुङ, जलजले, सिम्ले र इसिवुको सिमानामा अवस्थित उक्त पोखरी जिल्लाकै प्रसिद्ध पर्यटकीयस्थल समेत हो ।

चिलिलिङ पोखरीलाई थप आकर्षक बनाउने नाउँमा गाउँपालिकाले भत्काएपछि यसको सुन्दरता गुमेको स्थानीय जीवन तामाङको भनाइ छ ।

सामुन्द्रिक सतहदेखि २७ सय मिटर उचाइमा अवस्थित यस पोखरीको बीचमा जलकन्या देवीको मन्दिर समेत रहेको छ ।

केही वर्ष अघिसम्म पोखरीमा पानी टम्म हुन्थ्यो । मन्दिरमा पूजा तथा पोखरीको दृश्यावलोकन गर्न टाढा टाढाबाट पर्यटकहरु पनि आउने गरेका थिए ।

तर संरक्षण गर्ने निहँुमा डोजर लगाएर पोखरीकोे पुरानो संरचना ध्वस्त पारेपछि ऐतिहासिकता नामेट भएको अर्का स्थानीय जयबहादुर सिवाको गुनासो छ ।

पोखरीको ऐतिहासिक सुन्दरता नष्ट भएको भन्दै चिन्तित भइरहेका बेला स्थानीय सरकारले भने यसलाई सामान्य रुपमा लिएको छ ।

गाउँपालिकाले पर्यटन गुरुयोजना बनाएको र विकास गर्ने क्रममा केही विनाश हुनु स्वाभाविक रहेको फेदाप गाउँपालिका २ नम्बर वडाका अध्यक्ष गोविन्दप्रसाद मादेम्बाको तर्क छ ।

फेदापमा गाउँपालिकामा मात्र करिब एक दर्जन पर्यटकीय स्थल छन् । यस क्षेत्रमा एसियाकै लामो ह्यात्रुङ झरनालगायतका महत्वपूर्ण स्थलहरु छन् ।

पुरातात्विक सम्पदाको सौन्दर्य बचाएर पनि विकास गर्न सकिन्छ भन्ने कुरा सरोकारवाला निकायले मनन गर्नुपर्ने देखिन्छ ।