
काठमाडौं, फागुन १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ ।
उनलाई प्रतिबन्धसँगै रु ५० हजार जरिवाना गरिएको छ ।
एन्फाले बुधबार विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वतीका कप्तान दीपेशले मिलेमतो गरेको आरोप लगाएको छ । उनलाई आजको मितिदेखि खेल्न प्रतिबन्ध लगाइएको हो ।
दीपेशले प्रतियोगिता नियमावलीविपरीत काम गरेको भन्दै एन्फाले कारबाही गरेको हो ।
हिमालयनसितको खेलमा दीपेशले मिलेमतो गरेको आशंका गरिँदै आएको थियो ।
सरस्वतीले उक्त खेलमा हिमालयनलाई ४–३ गोलले पराजित गरेको थियो । प्रतियोगिताभर सरस्वतीले जितेको त्योमात्र एउटा खेल थियो ।
‘ए’ डिभिजन लिगमा सरस्वती एउटामा जित, एउटामा बराबरी तथा ११ खेलमा हारका साथ ‘रेलिगेसन’मा पर्दै डिभिजन ‘बी’मा झरेको थियो ।
दीपेश हाल धगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम टोलीबाट खेलिरहेका छन् ।
यसैगरी, हिमालयनका टोली व्यवस्थापक विजेन्द्र पुडासैनीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । उनलाई रु ३० हजार जरिवाना गरिएको छ ।
एन्फाले हिमालयनका गोलकिपर मिनबहादुर बस्नेतलाई सुध्रिने मौकासहित चेतावनी दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्