Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एमसीसी पारित गर्नुपर्छ : सांसद कोइराला

‘देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने दुई विकल्प छन्’

611
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताउनुभएको छ ।

‘एमसीसीको विपक्षमा धेरै मानिसहरू उभिइरहेका छन्, हाम्रो अस्तित्व नै डामाडोल हुन्छ, अमेरिकी सेना यहाँ आउँछन् जस्ता धेरै कुराहरू बाहिर आएका छन्’ उहाँले भन्नुभयो, ‘९ वटा मुलुकमा एमसीसी अहिले पनि चलिरहेको छ र त्यहाँ कोही सेनाहरू परिचालन भएका छैनन्, त्यसलाई पनि आधार मानेर हामीले एमसीसी पारित गर्नुपर्छ ।’

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरामा सांसद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको बताउँदै उहाँले आफ्ना निर्णयहरू बारम्बार भनिरहेको बताउनुभयो ।

सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गर्नुभयो ।

‘शेरबहादुरजीको अघि एउटा एमसीसी पास गराउने र अर्को सत्ता नबिग्रियोस् भन्ने दुई उपाय छन्, दुईमध्ये कुन उपाय रोज्ने उहाँको हातमा छ,’ उहाँले भन्नुभयो, ‘एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म, गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ ।’

सांसद कोइरालाले अमेरिकाले सदने एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गर्नुभयो ।