२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


६ महिनापछि विजुली बाल्न पाउँदा लुलाङवासी खुसी


195
Shares

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा गत भदौं २० गतेदेखि अवरुद्ध भएको जलविद्युत आयोजना ६ महिनापछि संचालनमा आएपछि स्थानीयवासी खुसी भएका छन् ।

दरखोलामा गत भदौमा आएको बाढीले बगाएको दरखोला दोस्रो जलविद्युत आयोजना ६ महिना पछि पुनःसुचारु भएको हो । ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो पहिराले बगाएपछि विद्युत आपूर्ति बन्द भएकोथियो ।

लघुजलविद्युत् परियोजनाको संरचना मर्मतपछि सुचारु भएको होे । जल विद्युत आयोजना पहिरोले बगाएपछि गाउँ अन्धकार बनेकोथियो । परियोजना पुनःनिर्माण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत १० लाख गरी कुल २२ लाख रुपैयाँ प्राप्त भएको परियोजना पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताउनुभएको छ ।

गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो । मर्मतपछि परीक्षण गरिएकोमा सफल भएको अध्यक्ष पाईजाले जानकारी दिनुभयो ।

विजुली बत्ती बलेपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुनमगरले बताउनु भयो।विद्युत सेवा सुचारुभएपछि गाउँमा रहेका कुटानी,पिसानी गर्ने मिल,फर्निचर उद्योगका साथै विद्यार्थीको पठन–पाठनमा समेत सहज भएको छ ।

अन्धकारमय बनेपछि सोलार र टुकी बत्तीका भरमा बसेका स्थानीयवासी अहिले विजुली बत्ती बाल्नपाउँदा उनीहरु उत्साहित भएकाछन् ।