नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, फागुन ७ । नेपाल धार्मिक र साँस्कृतिक सम्पदामा मात्र होइन, आयुर्वेदिक सूत्रहरुको मौलिकतामा पनि धनी छ । यहाँ आयुर्वेदका आफ्नै सूत्र र प्रविधि छन् ।
लिच्छविकालमा भृकुटीले बौद्धधर्मसँगै तिब्बतमा समेत आयुर्वेदिक ज्ञान विस्तार गरेको विश्वास गरिन्छ ।
मल्लकालीन समयमा नै दुर्लभ मानिएको जीवनारायणी तेल बनाउने फोसी अर्थात् भाँडो । जसमा विभिन्न जनावर, चराचुरुंगी र बहुमूल्य जडीबुटी मिसाएर तेल बनाउने गरिन्छ ।
मान्छेको शवसमेत सिँगै यसमा हालेर तेल बनाउने गरिन्थ्यो भन्ने जनश्रुती पनि छ । तर, राणाकालपछि त्यसरी तेल बनाइएको छैन ।
यो भैरवको मूर्ति रहेको भाँडो पनि अब इतिहास भइसकेको छ । तर, पुरातात्विक र ऐतिहासिक महत्वको जीवित इतिहास बोकेको भाँडोको संरक्षण भने हुन सकेको छैन ।
योमात्रै होइन, आयुर्वेदिक औषधि बनाउने थुप्रै भाँडाहरुको संरक्षण हुन सकेको छैन ।
प्रताप मल्लको समयमा हनुमानढोका दरबार, जंगबहादुरको पालामा थापाथली दरबार, वीरशमशेर र चन्द्रशमशेरको समयमा सिंहदरबार मुख्यरुपमा व्यक्तिगत र केहीमात्र बाहिरी प्रयोजनका लागि वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन गरिन्थ्यो ।
सोही समयदेखि लिखितरुपमा सूत्र र विधिसहितको ‘तर्किव किताब’हरु सिंहदरबार वैद्यखाना विकास समिति सुरक्षित छन् । तर, नेपालमा यीबाहेक वैद्यहरुसँग आ–आफ्नै सूत्र र विधिहरुसमेत रहेका छन् ।
यस्ता पुरातात्विक र ऐतिहासिक महत्वका भाँडाहरुको संरक्षण गर्नु राज्यको दायित्व हो ।
समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्माले चाँड नै यी भाँडाहरुलाई संग्रहालयमा राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
तिब्बती राजा स्रङचङ गम्पोसँग बिहे गरेर गएपछि राजकुमारी भृकुटीले बौद्धधर्मसँगै तिब्बतमा आयुर्वेदिक ज्ञान पनि लगेको र त्यसैको जगमा बनेका तिब्बती औषधिहरु विश्वभर प्रयोग भइरहेका छन् ।
तर, नेपालमा भने समय र आवश्यकताअनुसार ज्ञान र प्रविधिको विकास नहँुदा भइरहेका सामग्री जोगाउनसमेत मुस्किल भएको छ ।









प्रतिक्रिया दिनुहोस्