
रुकुम पूर्व/म्याग्दी । रुकुम पूर्वको माथिल्लो भेगमा फेरि हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।
पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको हो ।
यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसोले दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्थानीयले बताएका छन् । यस वर्ष रुकुमपूर्वमा सात पटक हिमपात भईसकेको छ ।
यता म्याग्दीको गुर्जामा पनि यस वर्ष पाँचौ पटक हिमपात भएको छ । गएरातिदेखि म्याग्दीको उपल्लो भेगमा हिमपात र तल्लो भेगमा वर्षा भएपछि चिसो बढेको छ ।
बाक्लो हिमपातले धौलागिरि, चुरेन र गुर्जा हिमालको फेदीमा रहेको गुर्जा गाउँ सेताम्यै बनेको छ ।
त्यसैगरी, उत्तरी म्याग्दीका घोरेपानी, पुनहिल, खोप्रा, टोड्के, रुईसेमा पनि बाक्लो हिउँ परेको छ । पटक पटक हिमपात र वर्षा भएकाले कृषक भने कष्टकर जनजीवनबीच पनि खुशी भएका छन् । गहुँ, जौ, उवाजस्ता बाली तथा स्याउ जस्ता हिमाली फलफूल फस्टाउने उनीहरुको विश्वास छ ।
उता मुस्ताङमा पनि ब्यापक हिमपात भएको छ ।
प्रतिक्रिया दिनुहोस्