
काठमाडौं । गत बर्ष विद्रोहमार्फत सत्ता हत्याएको म्यानमारका सैनिक शासक मिन आउङ ह्लिङले आफ्नो शासनलाई बैधानिकता दिन धर्मको आड लिने प्रयासमा जुट्नु भएको छ ।
उहाँले विश्वकै सबै भन्दा ठूलो बसिरहेको बुद्धको मूर्ति बनाउने योजना बनाउनु भएको छ । यसलाई बुद्ध धर्मको संरक्षकको रूपमा विरासत निर्माण गर्ने उहाँको प्रयासको एक हिस्सा ठानिएको छ ।
विगत ६० वर्षदेखि सैन्य नियन्त्रणमा रहेको यो ९० प्रतिशत बौद्धमार्गी देशमा कुनै न कुनै प्रकारको वैधानिकताको प्रयास गर्न र दावी गर्न मिनले विगतमा अपनाइएको विधितर्फ झुकाव देखाउनु भएको छ ।
गत अक्टोबरमा मिनले म्यानमारको दोस्रो ठूलो शहर मण्डलेका धेरै गुम्बाहरुको दर्शन गरेर दान गर्नु भएको थियो । उहाँले भेटेका भिक्षुहरु मध्ये राज्य संघ महानायक समितिका अध्यक्ष भामो सायदव पनि थिए ।
त्यसअघि सोही महिनामा सेनाले उत्तरपश्चिमी चिन राज्यको थान्टलांगमा एक अपरेसन चलाएको थियो । त्यसक्रममा सेनाले सयौं भवनहरु ध्वस्त पार्नुका साथै हजारौं नागरिकलाई आफ्नो घर छोड्न बाध्य पारेको थियो ।
उच्चपदस्थ भिक्षुहरूसँग सैन्य नेतृत्वले भेटेको खबर राज्य संचालित सञ्चार माध्यममा दिनहुँजसो आइरहन्छन् । त्यसलाई सार्वजनिक सम्बन्ध सुधारको प्रयासको रुपमा हेरिएको छ ।
एक अध्ययनले बौद्ध धर्मको सम्बद्र्धनका लागि सैनिक सरकारले गरेको प्रयासको सार्वजनिक प्रदर्शन झण्डै चार गुणा बढेको देखाएको छ । म्यानमारको सेना धर्मलाई सहानुभूति बटुल्ने मामिलामा निकै चलाख ठानिन्छ ।
तर केही बौद्ध भिक्षुहरुले भने शासकले देखाएको धर्मप्रतिको रुझानलाई नक्कली ठान्छन् । उनीहरुले सैनिक शासकहरुले अहिले गरिरहेको क्रियाकलाप धर्मविपरित रहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्