२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


३ वर्षपछि चीनले अन्तरिक्षमा पर्यटक लैजादै


455
Shares

एजेन्सी । अबको तीन वर्षपछि मानिसहरू चिनियाँ रकेटमा बसेर अन्तरिक्षमा पुग्न सक्नेछन् ।

चीनले सन् २०२५ मा सर्वसाधारणलाई अन्तरिक्षमा लैजाने गरी पखेटा भएका रकेटहरु बनाउँदैछ । चीनले अन्तरिक्ष विमान विकास कार्यक्रम अन्तर्गत धमाधम पखेटा भएको रकेट निर्माण गरिरहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशन चीनको मुख्य अन्तरिक्ष ठेकेदार कम्पनी हो । उसकै मातहतमा पर्यटक तथा सर्वसाधारण यात्रुलाई अन्तरिक्षमा लैजाने गरी रकेटहरु बनिरहेका छन् । यो रकेटको यात्रा विश्वका अन्य रकेटहरू भन्दा सस्तो हुने पनि कम्पनीको दाबी छ ।

यो रकेट सामान्य विमान भन्दा छिटो उड्नेछ भने रकेट पूर्ण रूपमा पुनः प्रयोगयोग्य हुनेछ । यो रकेट चीनबाट उड्नेछ र अन्तरिक्ष हुँदै सिधै संयुक्त अरव इमिरेट्स (युएइ)को दुबईमा अवतरण गर्नेछ । पहिलो परीक्षण उडान सन् २०२४ मा हुनेछ भने पहिलो चालक दलको उडान सन् २०२५ देखि सुरु हुनेछ ।

विश्वभर अन्तरिक्ष पर्यटन परियोजनाहरू भइरहेका बेला चीनले पनि अन्तरिक्षमा जान चाहनेलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउन लागेको हो । गत असोजमा अमेरिकाको स्पेसएक्स कम्पनीले ४ जना यात्रु अन्तरिक्षमा लगेको थियो । तर एकजनालाई अन्तरिक्षमा पुग्न कति खर्च लाग्ने भन्ने कुरा चिनियाँ कम्पनीले खुलाएको छैन । तर यात्रु लैजानका लागि निकै मेहनतका साथ काम गरिरहेको चिनियाँ कम्पनीको दाबी छ । ४ जना अमेरिकीले भने २ करोड डलर खर्च गरेका बताइएको छ ।