Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


५ देखि ११ वर्षका लागि खोप २ महिनापछि


104
Shares

काठमाडौं । सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्घको खोप करिब दुई महिनापछि लगाउने तयारी थालेको छ । करिब ४० लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको ‘गुलाबी खोप’ मार्चको अन्त्य वा अप्रिल पहिलो सातासम्म पाउने सरकारी अधिकारीले अपेक्षा गरेका छन् ।

‘५ देखि ११ वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजर खोप अप्रिलको पहिलो सातासम्म आउने सम्भावना छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डा. आरपी बिच्छाले कान्तिपुरसँग भने, ‘खोप आउनासाथ दुईदेखि तीन महिनाभित्र हामी यो उमेर समूहका पूर्ण जनसंख्यालाई खोप लगाउन सक्छौं ।’

सरकारले धेरैअघि नै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ६० लाख मात्रा खोपका लागि विश्व बैंकमार्फत फाइजर कम्पनीसँग अनुबन्ध गरेको थियो ।

तर, कोभाक्स सुविधाको सहयोगअन्तर्गत मोडर्नाको खोप ३४ लाख मात्रा आयो । थप ४० लाख मात्रा मोडर्नासमेत नेपाल भित्रिइसकेको छ । यसरी भित्रिएको कुल ७४ लाख मात्रा मोडर्ना १२ देखि १७ वर्षका बालबालिकालाई दिन थालिएको छ ।

कान्तिपुर