Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


वैकल्पिक माध्यमबाट पठनपाठन गराउन कामपाको निर्देशन


351
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्ररूपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने बताइएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

सरकाले दिएको निर्देशनको बेवास्था गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आए पनि कामपाले पुनः सूचना जारी गरेको र फेरि बेवास्था गरे थप कारबाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘महामारी नियन्त्रणमा सबैको साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत विद्यालय सञ्चालन गर्नु हँुदैन, तत्काल बन्द गरेर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुपर्छ ।’

नेपाल समाचारपत्र