Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


प्रदेशको एउटै मन्त्रालयको फजुल खर्च करोडौं


195
Shares

सुर्खेत । कर्णालीमा आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनि छन्। प्रदेशको आन्तरिक आम्दानी पनि न्यून छ। प्रदेश सरकार संघले दिने अनुदानका भरमा छ। खर्च भने मनलाग्दी गर्ने गरेको पाइएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भ्रमण, भत्ता र अनुगमनका नाममा करोडौं फजुल खर्च गरेको विवरणले देखाएको छ।

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक खर्च विवरणमा भ्रमण र भत्ता शीर्षकमै करोडौं बजेट खर्च भएको उल्लेख छ। कोरोना महामारीकै बेला बैठक भत्ता, अन्य भत्ता, भ्रमण खर्च र तालिम तथा गोष्ठी शीर्षकमा २८ करोड २७ लाख ३६ हजार सकिएको हो।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले आवश्यकताका आधारमा बजेट खर्च भएको दाबी गरे। ‘फजुल खर्चभन्दा पनि आवश्यकताका आधारमा बजेट खर्च गरेका हौं’, प्रवक्ता अधिकारीले भने, ‘के कति खर्च गर्न पाउने भन्ने अधिकार सचिवमा निर्भर रहन्छ।’

विवरणअनुसार बैठक तथा पदाधिकारीको भत्तामा ७ करोड ८५ लाख ३ हजार रुपैयाँ खर्च भएको छ। अन्य भत्ता शीर्षकमा ७ करोड ७९ लाख ७६ हजार, कर्मचारीको बैठक भत्तामा ८ लाख ७७ हजार र पदाधिकारीको बैठक भत्तामा ७ लाख ११ हजार, कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा ७ करोड ५० लाख ३३ हजार र कर्मचारीको तालिममा १ करोड ९७ लाख ८९ हजार खर्च गरेको पाइएको छ। सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीका नाममा मन्त्रालयले ६ करोड ९३ लाख ३० हजार खर्चेको छ।

अन्नपूर्ण पोस्ट्