-नवीन सिंह/ ईमेज
जनकपुर । प्रदेश २ मा सरकार परिवर्तनको बहस जोडतोडका साथ उठ्न थालेको छ ।
प्रदेशमा सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले संघीय सरकारबाट बिदा लिनु तथा राजपासँग सत्तारुढ नेकपाको चुनावी तालमेल हुनुले यसको बहस सतहमा आएको हो ।
प्रदेश २ को सरकारमा सामेल भएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले सरकार परिवर्तनको कुरा नउठाए पनि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीले भने यसको तयारी गरिरहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको बेला राजपासँग गरिएको सम्झौताको आधारमा उसँग मिलेर सरकार बनाउने वा त्यसो नभए अविश्वासको प्रस्तावबाट सरकार ढाल्ने नेकपाको दाबी छ ।
यस विषयमा मुख्यमन्त्री लालबाबु राउत भने संघीयता नरुचाउनेले यो सरकार परिवर्तनको हल्ला चलाए पनि यो सरकार पाँच वर्षसम्म चल्ने दाबी गर्छन ।
अर्कोतिर समाजवादीका नेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव भने जनताको मतादेशअनुसार सरकार पाँच वर्षसम्म चल्नुपर्ने भए पनि केही समययता परिस्थिति फेरिएको धारणा राख्छन् ।
त्यस्तै प्रदेश २ को सत्ता साझेदार दल राजपा नेपालले केही समय अघि सरकार परिवर्तन हुने भन्दै आएको थियो ।
तर अहिले भने मधेश आन्दोलनको जगमा मधेशी दलकै सरकार बनेकोमा ५ वर्षसम्म परिवर्तन नहुने उद्घोष गर्न थालेको छ ।
राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह मधेशी जनताले मधेशको माग सम्बोधन गराउन मत दिएकाले ५ वर्षसम्म सरकार नढल्ने बताउँछन् ।
यता प्रमुख प्रतिपक्षी दल नेकपाले भने सरकार जसरी पनि ढल्ने दाबी गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल राजपा र नेकपाबीच विश्वासको वातावरण बनेकाले सरकार छिटै ढल्ने दाबी गर्छन ।
सरकार परिवर्तनको चर्चाले सत्ता साझेदार दलबीच नै मतान्तर उत्पन्न भएको छ ।








प्रतिक्रिया दिनुहोस्