२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१४औं आईपीएल पनि भारतमा हुने सम्भावना कम, विकल्पमा साउथ अफ्रिका र श्रीलंका


195
Shares

एजेन्सी । कोरोनाको तेस्रो लहर ओमिक्रोनको संक्रमण तीव्र भएसँगै संसारकाे सबैभन्दा महंगाे क्रिकेट लिग १४औं संस्करणको इंडियन प्रिमियर लिग ‘आईपीएल’ भारतमा हुने सम्भावना कम हुँदै गएको छ ।

कोरोना संक्रमणको तीव्र गति आगामी अप्रिलसम्म जारी रहे भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आगामी आईपीएल श्रीलंका वा साउथ अफ्रिकामा गर्नसक्ने देखिएको छ ।

कोरोना संक्रमण बढेसँगै गत वर्षको आईपीएल पनि युएईमा भएको थियो । पहिलो आधा हिस्सा भारतमा गरिएको गत वर्षको आईपीएलको बाँकी आधा खेल भने युएईमा खेलाइएको थियो ।

टी–ट्वान्टी विश्वकप क्रिकेटको आयोजना पनि भारतमा नै हुने तय भएको थियो । तर, कोरोना संक्रमणकै कारण भारतमा प्रतियोगिता आयोजना हुन सकेन । यसको आयोजना पनि युएईमै भएको थियो ।

बीसीसीआईले आफूहरु सधैं युएईको मात्र भरमा बस्न नहुने भन्दै श्रीलंका र साउथ अफ्रिकामा आगामी खेलको आयोजना हुनसक्ने जनाएको छ ।

‘हामी सधैं युएईको भर परेर हुँदैन,’ त्यहाँका एक अधिकारीले भने, ‘अप्रिलसम्म भारतमा कोरोनाको संक्रमण कम भएमा भारतमा नै गर्छौं, नभए श्रीलंका वा साउथ अफ्रिकामा हुनसक्छ ।’

साउथ अफ्रिका र भारतको समयमा तीन घण्टा ३० मिनेटको फरक छ । साउथ अफ्रिकामा साँझ ५ बजे खेल सुरु गर्दा भारतमा साढे ८ बज्ने भएकाले त्यसले खासै असर नगर्ने बीसीसीआईका अधिकारीको बुझाइ छ ।

यसअघि अफ्रिकामा भएको खेलमा त्यहाँको व्यवस्थापनले एकदमै चुस्त काम गरेकाले बीसीसीआई साउथ अफ्रिकासँग सन्तुष्ट छ ।

यता, श्रीलंका र भारतको एउटै समय भएकाले त्यहाँ प्रतियोगिता गर्न समस्या नहुने बीसीसीआईको बुझाइ छ । श्रीलंकामा अहिले जारी लंका प्रिमियर लिग पनि श्रीलंकाको क्रिकेट बोर्डले शानदार ढंगले सञ्चालन गरिरहेको छ ।

२०२२ मा हुने आईपीएलमा १० टीमले भाग लिँदैछन् । यसअघि ८ टीमले मात्र भाग लिइरहेको प्रतियोगितामा यसपटकदेखि अहमदाबाद र लखनऊको टीम थपिएका हुन् । दुई टीम थपिएसँगै यसपटक वृहद् अक्सन हुनेछ । अक्सन फ्रेब्रुअरीमा हुने बीसीसीआईले जनाएको छ ।