Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


व्यापारमा चीनको असहयाेगः दैनिक दुई सय ट्रक आउने नाकाबाट अहिले मुस्किलले २० वटा मात्र


819
Shares

काठमाडौंः लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन् ।

चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे। कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन् । दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन् ।

चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन्। आयात हुने सामानमा पनि जलविद्युत्का सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन् । जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ ।

चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ अड्किएको हिमालयन सीमापार वाणिज्य संघले जनाएको छ । ‘चीनले एक प्रकारको अघोषित नाकाबन्दी नै गरेको छ,’ संघका महासचिव भरत कार्कीले भने, ‘पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन ।’ संघका अनुसार तातोपानी र केरुङतर्फ करिब पाँच सय गाडी रोकिएका छन् । सुरुमा चिनियाँ पक्षले कोभिडको कारण कडाइ गरेको बताए पनि कोभिड कम हुँदा पनि गाडीको संख्या बढाएन ।

केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको पुलमा झार्ने गरेको छ । त्यहाँबाट नेपाली कामदारले लोड गरी ल्याउँछन् । कोभिडको कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट छ । तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ ।

नागरिक