दीपक घिमिरे (इमेज)
भैरहवा, माघ २३ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटरहरु डोजर चलाएर भत्काइएको छ ।
अस्पतालको गुरुयोजना बनाएर विकास गर्नका लागि प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने प्रदेश सरकारको तयारी छ ।
लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खाली नगरेपछि प्रहरीको सहयोगमा बिहीबार बिहानैदेखि डोजर चलाइएको हो ।
प्रदेश–५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएर पर्खाल लगाउने र बगैंचा बनाउने बताएको छ ।
अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउन भन्दै सटर खाली गराइएको हो ।
अस्पतालले व्यवसायीलाई ४८ घण्टाभित्र सटर खाली गर्न लगाए पनि नमानेपछि डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा. राजेन्द्र खनालको भनाइ छ ।
पाँच वर्षका लागि सम्झौता गरेको भएपनि तीन महिनामै प्रदेश सरकारले अस्पतालका सटर खाली गर्न भनेपछि व्यसायीहरु जिल्ला अदालत पुगेका थिए ।
जिल्ला अदालतको फैसला आफ्नो पक्षमा नआएपछि व्यवसायीहरु सर्वोच्च अलादतमा पुगेका थिए । अदालतले दुवै पक्षलाई आगामी फागुन १ गते छलफलमा बोलाएको छ ।
तर, मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काइएको हो ।
यता, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन राजेन्द्र खनालले भने अदालतको औपचारिक पत्र नआएको र प्रदेश सरकारको निर्णयअनुसार सटर भत्काएको बताए ।
प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने तयारी रहेको र यसले प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने उनको भनाइ छ ।
अस्पतालका ७३ ओटा व्यावसायिक सटरहरू रहेका छन् । सटर भाडामा लगाएबापत् अस्पताललाई वार्षिक ९ करोड आम्दानी हुँदै आएको थियो ।
व्यवसायीले भने अदालतको आदेश नमानेर अस्पातलले प्रशासनको बलमा डोजर चलाएर आफूहरुलाई विस्थापित गरेको आरोप लगाएका छन् ।








प्रतिक्रिया दिनुहोस्