
काठमाडौं, पुष १८ । २ सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २ सय ३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुल्लाबाट १ सय ११ जना र समावेशीबाट १ सय २५ जना गरी जम्मा २ सय ३६ जना केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत् रुपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुंग्याइने उहाँले बताउनुभयो ।
त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिनुभयो ।
यसैबीच, नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रिय कमिटी चयन गरेको भन्दै खुशी व्यक्त गरेका छन । उनीहरुले महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीप्रति कसैले पनि विमति नरहेको दावी समेत गरेका छन ।
केन्द्रिय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलहरुभन्दा पनि बढि लोकतान्त्रिक ढंगले केन्द्रिय कमिटी चयन गरिएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रिय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभयो ।
महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रिय सदस्य अनिल शर्माले बताउनु भयो । उहाँले सर्वसम्मत रुपमा केन्द्रिय कमिटी चयन हुनु भनेको आफूहरुका लागि गौरवको विषय भएको र यसले मुलुकको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताउनु भयो । बाइट…अनिल शर्मा, निर्वाचित केन्द्रिय सदस्य, नेकपा (माओवादी केन्द्र) माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रिय समितिले चयन गर्नेछ ।
यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती रहेको बताउनुभयो । समानुपातिक, समावेशीको विषयमा पार्टीभित्र असन्तुष्टि आएको उल्लेख गर्दै दाहालले पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो । अध्यक्ष दाहालले दलित नेताहरूले उठाएका माग पूरा हुने पनि बताउनुभयो । दलित वा अन्य समुदायको प्रतिनिधित्व नघटी बढ्ने उहाँको जिकिर थियो । सहमतिबाट केन्द्रीय कमिटी चयन गर्ने भन्दै उहाँले निर्वाचन कार्यतालिका पटक–पटक संशोधन गर्न लगाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्