नवीन सिंह (इमेज)
जनकपुरधाम, माघ १८ । ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियानअन्तर्गत् प्रदेश नम्बर–२ सरकारले बालिकाहरुलाई बिमा रकम एकलाख रुपैयाँबाट तीन लाख पुर्याएको छ ।
झट्ट सुन्दा लोकप्रिय लागे पनि रकम बढाएरमात्रै समस्याको चुरो निराकरण होला त ? भन्ने सवाल भने उठेको छ ।
प्रदेश–२ सरकारले एक लाख रकमबाट सुरु भएको छोरी बिमालाई बढाएर तीन लाखसम्म पुर्याएको छ ।
वि.सं. २०७५ माघ १ गतेबाट सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत् पछिल्लो वर्षमा सात हजार ४९१ छोरीको बिमा भइसकेको छ ।
त्यसैगरी, माघ २ गतेदेखि प्रदेश सरकारले आयोजना गरेको छोरी बिमा सप्ताहपछि अहिलेसम्म सो संख्या ८ हजार १७ जना पुगेको छ ।
प्रदेश सरकारले छोरी बिमाका लागि प्रभु बैंकसँग यसअघि नै सम्झौता गरिसकेको थियो ।
मधेसी समुदायको बाहुल्यता रहेको प्रदेश–२ मा छोरा–छोरीबीच गरिने व्यवहारमा विभेदी मानसिकता बढी नै रहेको देखिन्छ ।
अधिकांशले छोरीलाई शिक्षा–दीक्षा दिन पनि कन्जुस्याइँ गर्ने गरेको र विवाह पनि कम उमेरमै गरिदिने गर्दछन् ।
पहिलेदेखि नै जरा गाडेर बसेको छोरीलाई दाइजो दिने प्रथाका कारण गरिब समुदायका अभिभावकले छोरी जन्मिए समस्याको रुपमा लिने गरेको पाइन्छ ।
सोही अवस्थालाई मध्यनजर गरी लागू गरिएको उक्त अभियानबाट गएको एक वर्षमा अपेक्षित सफलता नभएकाले यसलाई अझै व्यवस्थित बनाउन रकम बढाइएको मुख्यमन्त्री लालबाबु राउतको तर्क छ ।
अर्कोतिर रकममात्र बढवा गर्नुभन्दा मानिसको सोच, चिन्तन र व्यवहारलाईसमेत परिवर्तन गराउनुपर्ने पक्षमा पनि आवाज उठेको देखिन्छ ।
संस्कार र संस्कृतिका नाममा अंगालिएका कतिपय सामाजिक कुरीतिको व्यावाहारिक अन्त्यका लागि सरकाले ठोस पहलकदमी गरी चेतना जगाउनुपर्ने नागरिक अगुवा अमरचन्द्र अनिल बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्