सुर्खेत, माघ १६ । टिपरको ठक्करबाट मंगलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन ।
मृतकका आफन्त र स्थानीयवासीले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् ।
टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा उत्रिएका हुन् ।
वीरेन्द्रचोक, एरिचोकलगायतका स्थानमा तनाव बढेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
वीरेन्द्रचोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका छन् । उनको दाँत झर्नुका साथै ओठमा चोट लागेको छ ।
प्रहरीले सोही स्थानबाट ८ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
घटनाको तेस्रो दिनसम्म पनि सुर्खेतको अवस्था सामान्य हुन नसकेपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोखेका छन् ।
पीडित र पीडक पक्षबीच वार्ताको सहजीकरण गर्नुको साटो प्रहरी–प्रशासनले अनावश्यक धरपकड गरेको व्यवसायीको आरोप छ ।
सुर्खेत उद्योग वाणिज्य संघले पनि प्रहरी प्रशासनले शान्ति–सुरक्षा कायम गर्न नसकेको प्रतिक्रिया दिएको छ ।
पीडित परिवार संघर्ष समिति संयोजक राजन सिंहले प्रशासनले समयमै टिपरधनीको खोजी गर्न नसकेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताए ।
सहमति हुन नसक्दा शव परीक्षण हुनसकेको छैन । शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले टिपरधनी सम्पर्कमा आएकाले अहिले दुवै पक्षबीच वार्ता भइरहेको जानकारी दिए ।
‘टिपरधनी हरि बिसी सम्पर्कमा आउनुभयो । अहिले वार्ता भइरहेको छ’–उनले भने ।
चालक वीरेन्द्रनगर–१० का राजकुमार बोहरालाई भने प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइसकेको छ ।
मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३, गौतमचोकमा भे१ख २२४२ नम्बरको टिपरको ठक्करबाट कालिकोट, महावै गाउँपालिका–३, सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्