Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


६७ देशबाट आउनेले सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागू नगर्ने

अर्को सूचना नभएसम्म नियम स्थगित

182
Shares

काठमाडौं । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ ।

आज बिहान एक सूचना प्रकाशित गर्दै विभागले हिजो प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन् ।’

हिजो साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो ।

सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको थियो । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने बताएको थियो ।