Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


महामन्त्रीमा गगन र विश्वप्रकाशको जित पक्का


624
Shares

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार गगन थापाले आफ्नो अग्रता जारी राखेका छन् । अहिलेसम्म ४३ सय ९० मत गनिसक्दा थापाले २८ सय २३ मत प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो स्थानमा रहेका विश्वप्रकास शर्माले १८ सय २४ मत प्राप्त गर्नुभएको छ । यस्तै महामन्त्रीका अर्का उम्मेदवार प्रकाशशरण महतले १४ सय ५५, प्रदीप पौडेलले १३ सय ३, मीनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले एकसय मत प्राप्त गर्नुभएको छ । महामन्त्रीमा प्रतिस्पर्धा गरिरहेका ६ जना मध्ये सबैभन्दा बढी मत ल्याउने २ जना निर्वाचित हुनेछन् । अहिलेसम्मको परिणामलाई हेर्दा थापा र शर्मा महामन्त्री बन्ने निश्चित भएको छ ।

मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भइसक्नु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचनबाट चयन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने छन् ।