Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


बैंकहरूले तत्काल निक्षेपको ब्याजदर नबढाउने


0
Shares

काठमाडौं । तरलता अभावको दबाबमा रहे पनि अधिकांश बैंकरहरू निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । शुक्रबार नेपाल बैंकर्स संघको बैठकमा अधिकांश बैंकरले ब्याजदर बढाउनुको अर्थ नरहेको तर्क पेस गरेका हुन् ।

‘ब्याजदर बढाएर मात्रै समस्या समाधान हुने देखिएन,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘यसले एक–अर्काको निक्षेप खोसिने अवस्था मात्रै आउने भएकाले तरलता व्यवस्थापनका अन्य विकल्प खोज्नुपर्ने संघको समितिका धेरै सदस्यहरूको मत रह्यो ।’ ब्याज बढाएर पनि निक्षेप नबढ्ने देखिएको र यसले कर्जाको आधार दर मात्र बढ्ने भएकाले ऋणीलाई भार पर्ने तर्क सहभागी बैंकरहरूले राखेको शर्माको भनाइ छ ।

यसअघि पनि ब्याजदर बढाउँदासमेत बैंकहरूमा निक्षेप बढ्न सकेको थिएन । मंसिर महिनाका लागि बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतमाथि पुर्‍याएका थिए । तर, मंसिरको तीन सातामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १० अर्ब रुपैयाँले घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ । कात्तिक अन्तिम साता वाणिज्य बैंकहरूमा ४२ खर्ब ३३ अर्ब रुपैयाँबराबर निक्षेप थियो ।

नयाँ पत्रिका