Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ सोमबार, शपथ पनि सोही दिन


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज(आइतबार) हेर्न नमिल्ने भएपछि भोलि सोमबारका लागि पेसी तोकिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आज पेसी तोकिएको थियो तर सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले आज मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिनिधिसभाले आज सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने भोलि सोमबारका लागि तय भएको छ ।

त्यस्तै, नवनिर्वाचित सभामुख सापकोटको शपथ पनि सोमबार बिहान हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।