Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


लुइँटेललाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ प्रदान


0
Shares

काठमाडौं, माघ ४ । यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ नागरिक राष्ट्रिय दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई प्रदान गरिएको छ ।

स्व. वियोगीको १४औं पुण्यतिथिका अवसरमा शनिबार नुवाकोटको सूर्यचौरमा आयोजित कार्यक्रममा लुइँटेललाई २५ हजार रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरियो ।

त्यसैगरी, १५ हजार राशिको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गरिएको छ ।

वरिष्ठ पत्रकार तथा हिरण्यलाल श्रेष्ठ र वरिष्ठ पत्रकार माधवकुमार रिमाललाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गरिएको छ ।

सम्पादक समाज नेपालका कोषाध्यक्ष जयप्रसाद दाहाललाई मरणोपरान्त सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नुवाकोटको सूर्यचौरमा  निर्माणाधीन गोविन्द वियोगी अध्ययन प्रतिष्ठानमा सरकारको कुनै सहयोग नभएको बताउँदै प्रतिष्ठान सम्पन्न गर्न तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै सरकार आफैं विनासको बाटोमा हिँडिरहेको बताए ।

वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठले प्रजातान्त्रिक आन्दोलनमा सन्चारजगतको महत्वपूर्ण योगदान रहेको भन्दै पत्रकारहरुलाई नियन्त्रण गर्ने काम सरकारबाट नहोस् भनेर खबरदारी गरे ।

कार्यक्रममा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले गोविन्द वियोगी अध्ययन प्रतिष्ठानको भवन निर्माणमा सहयोग गर्ने बताइन् ।