Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग


0
Shares

काठमाडौं, कात्तिक २६ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति ब्यवस्था बढाउन केन्द्रीय बैंकसँग आग्रह गरेको हो ।

बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिबेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो ।

महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न बाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँदै आएकोमा यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंक मार्फत आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।