काठमाडौं । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ ।
आइतबार थारु कल्याणकारिणी सभाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।
काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।
उनले भने,‘थारुको सबैभन्दा ठुलो चाड एवं नयाँ वर्ष पनि हो । माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी) हरेक बर्ष मकर संक्रान्तिकै दिन पर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
माघ १ गतेलाई नेपाल सरकारले वि.सं.२०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिदै आएकोमा गत बर्र्र्षबाट विदा कटौती गरेको छ । दुई दिनको सार्वजनिक विदा दिनुपर्ने थारु समुदायले माग गरे पनि एक दिन दिइने बिदा समेत कटौती गर्दा सरकारले थारु समुदाय माथि उपहास गरेको महसुस भएको छ । त्यसप्रति थारु समुदायको घोर आपत्ति छ ।’
यस्तै थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिए ।
यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरुको व्यवस्थापन गरिएको जानकारी दिए । यस्तै, उनले स्टलहरु व्यवस्थापन र बुकिङ भइसकेकाले आफ्नो स्टल बुकिङ गर्नसमेत अनुरोध गरे ।
कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए । उनीहरुले पनि उक्त पर्वको दिन राष्ट्रिय विदा दिन माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्