Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रदेश ३ को नाम र राजधानी तोक्न आज मतदान हुँदै, अधिकांश सांसद राजधानी हेटौंडा राख्ने पक्षमा


0
Shares

मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज प्रदेश ३ को प्रदेशसभामा मतदान हुँदैछ । अहिले मतदान प्रक्रिया भईरहेको छ ।

लामो रिक्ततालाई चिर्दै प्रदेश ३ प्रदेशसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेपछि आज मतदान हुन गईरहेको हो । प्रदेशसभाका ५ दलका १ सय १० जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम वाग्मती राख्न सहमत भएपछि मतदानको कार्यसूची तय भएको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

१ सय १० सदस्यमा नेकपाका ८० र काँग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रका १/१ सांसद् छन् ।

प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएका छन् । स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ ।

सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका छन् ।

प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन ७४ मत चाहिन्छ । बहुसंख्यक सांसद् हेटौंडाको पक्षमा देखिएकाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुने पक्का देखिएको छ ।