जनकपुर । नेपाल पत्रकार महासंघ धनुषाले समाचार संकलनमा गएका पत्रकारलाई कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गरेको छ ।
घटनामा संलग्न दोषीहरुलाई कारवाही नभए कडा आन्दोलनमा जाने चेतावनी समेत महासंघले दिएको छ ।
महासंघका अध्यक्ष अनिल मिश्रको नेतृत्वमा सञ्चारकर्मीहरु बुधबार जिल्ला प्रशासन कार्यालयमा गएर पाँच दिने अल्टिमेटम दिएका हुन् ।
उनीहरुले पत्रकारहरुलाई कुटपिट गर्नेमाथि कार्वाही, घाइते पत्रकारहरुको उपचार खर्च र खोसिएका एवं क्षति भएका संचार सामाग्रीको क्षतिपूर्ति सहित चार बुँदे माग राखेका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
मंगलबार जानकी मन्दिर फुलबारी जग्गाको अतिक्रमण बारे समाचार संकलन गर्न गएका पत्रकार र घटना बारे समन्वयका लागि पुगेका पत्रकाहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले आफ्नो कार्यकक्षमै बोलाएर कुटपिट गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्