दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, पुस २३ । कन्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्लामछेट्टीका दलित परिवार वर्षौंदेखि खोलाको पानी पिउन बाध्य छन् ।
आर्थिक अवस्था कमजोर रहेका उनीहरु हेन्डपम्प बनाउन नसक्दा महाकाली नदीको पानी पिउन बाध्य भएका हुन् ।
झन्डै चार दशकदेखि बसोबास गर्दै आएकी लक्षीमा सार्कीले आर्थिक अवस्था निकै कमजोर भएकै कारण आफूहरु वर्षौंदेखि महाकालीको पानी पिउन बाध्य भएको बताइन् ।
उनले खोलाको पानी पिउँदा बालबालिका र आफूहरुसमेत बिरामी पर्ने गरेको गुनासो गरिन् ।
दैनिक मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गरेका दलित परिवार हेन्डपम्प बनाउने पैसा नहुँदा कस्टकर जीवन जिउन परेको बताउँछन् ।
शुद्ध पिउनेपानीको व्यवस्था मिलाइदिन स्थानीय सरकार र सरोकारवालाहरुसँग उनीहरुको आग्रह छ ।
चुरेको फेदीमा रहेको बस्ती भौगोलिकरुपमा निकै विकट छ ।
वर्षामा बाढीको भेलसँगै आउने धमिलो पानीलाई कपडामा छानेर पिउनुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।
अधिकांश दलित परिवारको बसोबास रहेको यस बस्तीमा सडक, यातायात, खानेपानी तथा स्वास्थ्य र सन्चारजस्ता आधारभूत आवाश्यकतासमेत पुग्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्