गृष्मा राजभण्डारी र भरत केसी (इमेज)
इटहरी, पुस २२ । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले विगत तीन वर्षदेखि संयुक्तरुपमा गर्दै आएको सडक बालबालिका उद्धार अभियान प्रदेशहरुबाट पनि सुरु गरिएको छ ।
यसैक्रममा प्रदेश नम्बर–१ को धरान र दमकमा गरी ३० जना बालबालिका र किशोर–किशोरीको उद्धार गरिएको छ ।
काठमाडौंकेन्द्रित सडक बालबालिका उद्धार अभियानलाई प्रदेशहरुमा विस्तार गर्नेक्रममा प्रदेश–१ बाट यो अभियान सुरु गरिएको छ ।
प्रदेश–१ को सुनसरीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको उपस्थितिमा उद्धार अभियान सुरु गरिएको हो ।
सुरुमा सुनसरीको धरान नगरपालिकाको भानुचोकबाट १६ जना सडक बालबालिकालाई स्थानीय प्रहरीको रोहबरमा उद्धार गरिएको छ ।
यस्तै, सडकलाई नै आश्रयस्थल बनाएर बसेका दमक नगरपालिकाबाट १४ जना बालबालिका र किशोर–किशोरीहरुको पनि उद्धार गरिएको छ ।
उद्धारका गरिएकाहरुको साथबाट नशालु पदार्थसमेत भेटिएको थियो ।
उद्धार गरिएका धेरैजसो बालबालिकाले सानो उमेरमा नै घर छोडेकाले सडकमा बस्न बाध्य भएको बताएका छन् ।
दमकको सडकमा भेटिएकी एक १५ वर्षीया किशोरी विगत सात वर्षदेखि सडकमा छिन् । आमा बितेर बाबुले दोस्रो विवाह गरेदेखि उनी सडकमा रात बिताउन बाध्य भएको बताउँछिन् ।
उद्धार अभियानलाई निरन्तरता दिइ कुनैपनि बालबालिकालाई सडकमा रात बिताउन नदिइने मन्त्री गुरुङले बताए ।
प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश–१ सडक बालबालिका मुक्त प्रदेश घोषणा हुनेमा आफू विश्वस्त रहेको बताए ।
बालबालिका खोजतलास केन्द्रका प्रमुख मोहनविक्रम दाहालले काठमाडौंमा जोखिम मोलेर गरिएको उद्धार अभियान काठमाडौंबाहिर भने सहजरुपमा भएको बताए ।
यही पुस १७ गतेबाट सुरु भएको उद्धार अभियान १९ गतेसम्म चलेको थियो ।
उद्धार गरिएका बालबालिकालाई इटहरीस्थित ‘भ्वाइस अफ चिल्ड्रेन’मा राखिएको छ ।
सडक बालबालिकाको पहिचान गरी उद्धारकार्य अघि बढाइएपनि उनीहरुको उचित व्यवस्थापनमा भने समस्या देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्