Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


काठमाडौंमा ३.८ मिलिमिटर वर्षा, आइतबारदेखि मौसम खुल्ने


0
Shares

काठमाडौं, पुस १८ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ ।

अहिले देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहेको छ ।

आइतबार दिउँसोदेखि मौसम सामान्य हुने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

उनकाअनुसार शनिबार पनि देशभर मौसम बदली हुनेछ ।

‘भोलि (शनिबार) आजजस्तो पूर्णबदली भने हुँदैन । हल्का वर्षाको सम्भावना छ । आइतबार दिउँसोदेखिमात्रै मौसम पूर्णरुपमा खुल्ने देखिन्छ’–उनले शुक्रबार साँझ इमेजखबरसित टेलिफोनमा भनिन् ।

मौसम पूर्वानुमान

शुक्रबार राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, शुक्रबार राति मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले शुक्रबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै, शनिबार दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आइतबार

आइतबार दिउँसो देशको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।

यस्तै, आइतबार दिउँसो देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मध्य तथा पूर्वी पहाडका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशको पश्चिमी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

सतर्कता अपनाउन अनुरोध

मौसम बदलीसँगै हल्कादेखि मध्यम वर्षा र मध्यमदेखि भारी हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

काठमाडौंमा ३.८ मिलिमिटर वर्षा

महाशाखाको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३.८ मिलिमिटर वर्षा भएको छ । यो बिहीबार बेलुका पौने ६ बजेदेखि शुक्रबार बेलुका पौने ६ बजेसम्मको तथ्यांक हो ।

तापक्रम

शुक्रबार काठमाडौंको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम् तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको छ ।

शुक्रबार डडेल्धुराको न्यूनतम् तापक्रम माइनस १.५ र अधिकतम् तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, जिरीको न्यूनतम् तापक्रम माइनस ०.५ र अधिकतम् तापक्रम १.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।