प्रकाश नेपाल
इलाम, असोज २६ । देशमा रोजगारीका अवसर नदेखेर धेरै युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । तर इलामको सन्दकपुर– ३ सुलुबुङका युवा थलबहादूर लुङ्गेली कतारको रोजगारी छोडेर गाउँमा बाख्रा पालन गरी सफल उद्यमी भएका छन् ।
वैदेशिक रोजगारीका लागि कतार पुगेका इलामको सन्दकपूर– ३ सुलुबुङ्गका थलबहादूर लुङ्गेलीले दिनभर काम गरेपनि राम्रो आम्दानी हात पार्न सकेनन् । दुई लाख खर्च गरेर वैदेशिक रोजगारीमा कतार पुगेका लुङ्गेलीले ६ वर्षसम्म काम गरे । कतारमा बिहान ६ बजेदेखि बेलुकी १० वजेसम्म काम गरेपनि आम्दानी राम्रो नभएपछि गाउँमै दुःख गर्ने निर्णयका साथ उनी स्वदेश फर्के । स्वदेश फर्किएका लुङ्गेलीले २०७३ सालमा बाख्रापालन फार्म दर्ता गरे । शुरुमा चार माउ बाख्राबाट व्यवसायीक बाख्रा पालनमा लागेका लुङ्गेलीको फार्ममा अहिले ५० वटा बाख्रा रहेका छन् । डाले घाँस र चरन क्षेत्र रहेको जमिन प्रशस्त भएकाले लुङ्गेलीलाई बाख्रा पालनका लागि घाँसको समस्या भएन । विदेशमा १२ घण्टा काम गरेपनि ६ वर्षमा आफ्नो लगानी उठाउन समस्या भएको बताउने लुङ्गेली अहिले परिवारसँगै बसेर प्रत्येक वर्ष तीन लाखसम्म आम्दानी गर्दै आएका छन् ।
बाख्रा फार्म निर्माणका लागि सन्दकपूर गाउँपालिकाले ५० हजार आर्थिक सहयोग गरेको थियो । कोरोना माहामारीका कारण बाख्रा खरिद गर्ने तराईका व्यापारी पुग्न नसकेपनि अहिले स्थानीय बजारमै बाख्रा बिक्री हुँदै आएको छ । विदेशमा ज्यानको जोखिम मोलेर काम गरेपनि आम्दानी गर्न नसकेपछि घर फर्किएर श्रीमान्ले बाख्रा पालन गरि आम्दानी राम्रो गरेपछि थलबहादूरकी श्रीमती गीता लुङ्गेली पनि खुशी भएकी छन् ।
कुनै पनि पेशामा निरन्तर लागेमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेको छ लुङ्गेली परिवार । व्यवसायीक रुपमा गरिएको बाख्रा पालनबाट गरेको आम्दानी देखेर अहिले गाउँका युवाहरु पनि बाख्रापालन तर्फ आकर्षित भएका छन् ।








प्रतिक्रिया दिनुहोस्