-धु्रबसागर शर्मा/ ईमेज
म्याग्दी, पुस १७ । बेनी नगरपालिका र बागलुङको काँठेखोला गाउँपालिकामा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।
पर्यटकको आकर्षण बढ्दै जान थालेपछि दुवै जिल्लाका दुई स्थानीयतहबीच पूर्वाधार निर्माणको होडबाजी नै चलेको हो । म्याग्दी र बाग्लुङको सिमामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र बेलढुंगाको पूर्वाधार निर्माणमा स्थानीय तहको चासो बढ्दै गइरहेको छ ।
समुद्री सतहदेखि २ हजार ६ सय १८ मिटरको उचाइमा यस स्थानबाट दर्जनौँ हिमश्रृङ्खला, खोलानाला तथा झरनाको मनमोहक दृश्य आँखै अगाडि छर्लंग हुन्छ ।
वरपरका चारवटै जिल्लाका तीन दर्जन बढि गाउँहरु, बनजङ्गल,जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्यावलोकन गर्न पाइनु यो ठाउँको विशेषता रहेको बेनी नगरपालिका ३ का वडाध्यक्ष पद्म पुनको भनाइ छ ।
चरै घना जंगल,जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल ढुङ्गा रहेकोले यस स्थानलाई बेलढुङ्गा नामाकरण गरिएको बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीष बताउँछन् ।
यहाँबाट देख्न सकिने धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु, बाघ, भालु, चितुवा, डाँफे मुनाल लगायतका पशुपंक्षी र वरपरको हरियालीको रमणीयताले जोकोहीलाई दंग पारिदिन्छ ।
यहाँको मनमोहक दृश्यावलोकनले आफूूलाई निकै आनन्द अनुभूति भएको यस क्षेत्रमा घुम्न आउनेहरु बताउँछन् । बेलढुङ्गामा पूर्वाधार निर्माण र विकासका लागि दुई जिल्लाका दुईवटै वडाको समान योगदान रहेको छ ।
‘ बेलढुङ्गा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको जानकारहरु बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्