Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


शुक्लागण्डकी नगरपालिकामा गौ संरक्षण केन्द्र संचालन


0
Shares

-उपेन्द्र खनाल/ईमेज

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले छाडा चौपायको व्यवस्थापनमा सक्रियता देखाएको छ ।

चौपाया जथाभावी छाड्दा सडक दुर्घटनाको जोखिम बढेको र स्थानीयलाई समेत दुःख हुन थालेपछि व्यवस्थापनका लागि नगरपालिकाले गौ संरक्षण केन्द्र संचालनमा ल्याएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ को मतरामा गौ संरक्षण केन्द्र स्थापना छाडा चौपायालाई संरक्षण दिइएको छ ।

संरक्षण केन्द्रमा अहिले एक सय ५५ वटा चौपाया छन् । त्यसको लागि दैनिक १५ भारी पराल जुटाउनुपरेको छ । खर्च व्यवस्थापनका लागि नगरपालिका बजेट विनियोजन गर्दै आएको छ ।

तर चौपाया बढी भएका कारण नगरपालिकाको बजेटले मात्रै धान्न गाह्रो भएको जनाइएको छ ।

यता चौपायाको व्यवस्थापन भएपछि भने स्थानीयलाई दुःख दिन छाडेकोे गौ संरक्षण केन्द्रकी संयोजक गीता महत बताउँछन् ।

चौपायको रेखदेखको लागि नगरपालिकाले दुईजना हेरालुको समेत व्यवस्था गरेको छ ।

खर्च व्यवस्थानका लागि गत वर्षमा १७ लाख रुपैंयाँ छुट्याइएको थियो भने यो वर्ष २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

जथाभावी छाड्ने गाइवस्तुको अहिले संरक्षण भएको रेखदेख गरिरहेका धन बहादुर पराजुलीको भनाइ छ ।

दुःख दिने बेलासम्म पाल्ने र त्यसपछि छाडा छोड्ने प्रवृत्तिका कारण समस्या भइरहेको हो ।

चौपायले बालीनाली खाएर सबैलाई दुःख दिएको गुनासो बढेपछि व्यवस्थापनका लागि संरक्षण केन्द्र स्थापना गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारी बताउँछन् ।

ब्यबस्थापनका लागि सुरु सुरुमा केही कठिनाइ भए पनि अहिले भने सुधार हुँदै गएको छ । नगरपालिकाको यो अभियानलाई स्थानीयवासीले पनि सहयोग गर्न आवश्यक छ ।