Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


ल्होछारले राष्ट्रिय एकता प्रवर्द्धन गर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।

ल्होछारका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनले तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गरेका छन् । 

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै प्रधानमन्त्रीले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएको बताए ।

सन्देशमा प्रधानमन्त्री ओलीले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गरे ।

सन्देशमा तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइने गरेको तथा गुरुङ (तमु) भाषामा ‘ल्हो’ भनेको दिन, र ‘छार’लाई पुस १५ को रूपमा लिइने गरेको चर्चा गर्दै उनले भूगोलअनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होछारलाई संसारभरि छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने दिनका रूपमा मनाउने गर्छन् भनेका छन् ।