– टेकराज अवस्थी/ईमेज
डडेल्धुरा, पुस १३ । पछिल्लो समय चर्चित बन्दै गएको किवि खेतीमा कृषकहरुको आकर्षण बढ्दै गएको छ । नेपालमा केही वर्षअघिदेखि सुरु भएको यसको खेतीबाट कृषकहरु सफल पनि बन्दै गएका छन् ।
पूर्वी पहाडी जिल्लाहरुमा किवि खेती विस्तार हुँदै गए पनि पश्चिमी भेगमा भने त्यसको तुलनामा निकै कम छ । कम मिहिनेत र लगानीमै प्रशस्त प्रतिफल पाउन सकिने भएकाले पनि यसको खेती गर्नेहरु सफल हुँदै गएका छन् ।
तिनैमध्येका एक हुन् डडेल्धुराको अमरगढी नगरपालिका १ का गणेशबहादुर ऐर । सुदुरपश्चिममै पहिलो पटक किवि फलको व्यावसायिक खेतीमा होमिएका ऐरले अहिले यसबाट वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् साथमा कतिपयलाई रोजगारी पनि दिलाएका छन् ।
६ रोपनी जग्गामा गरिएको किविले अहिले प्रतिफल दिन थालिसकेको छ । किविबारीमा लटरम्म फलेका किविफल पाकेको देखेर उनी मख्ख छन् ।
यसअघि टमाटर काउलीलगायतका तरकारीको खेती गर्दै आइरहेका उनी यसबाट झनै उत्साहित देखिन्छन् । उनी मात्र होइन किवि बारीमा काम गर्न पाउँदा स्थानीय महिला श्रमिक पनि खुसी भएका छन् ।
उच्च रक्तचाप, पोषण, छाला तथा मुटुको समस्याका लागि उपयोगी हुने किविफल उपभोक्तामाझ पनि लोकप्रिय बन्दै गएको छ ।
खेतीका लागि माटो तथा हावापानी समेत अनुकूल रहेको र भुइँमा अन्य तरकारी लगाउन सकिने भएकाले यसबाट कम लगानीमै मनग्ये आयआर्जन हुने गरेको छ ।
सुरुमा चीन हुँदै न्यूजिल्याण्डबाट विकसित भएको किविफल स्थानीय बजारमा भने अझै प्रचारप्रसार व्यापक हुन सकेको छैन । सरकारी पक्षबाट पनि यसको खेतीलाई थप प्रवद्र्धन र विस्तार गर्न आवश्यक छ ।




प्रतिक्रिया दिनुहोस्