Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


झोलुङ्गे पुल निर्माण सम्पन्न गर्नुपर्ने २०७६ भदौमा, काम सुरु भयो बल्ल, ठेकेदार भन्छन्, ‘अब दुईवर्षमा काम सक्छौं’


0
Shares

-हरि शर्मा/ ईमेज 

नवलपरासी, पुस १३ । विगत चार वर्षदेखि अलपत्र बनेकोे सुस्ता पुलको निर्माण कार्य सुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँ पुग्नका लागि नारायणी नदीमा झोलुङ्गे पुलको निर्माण कार्य चार वर्षअघि सुरु गरिएको थियो ।

पश्चिम नवलपरासीको सुस्ता गाउँमा निर्माणाधीन पुल २०७६ भदौभित्र निर्माण सम्पन्न गर्ने गरी त्रिशुली आश्रय जेभी कम्पनीले २०७२ असोज २६ मा सम्झौता गरेको थियो ।

सम्झौतापछि केही दिन काम सुरु गरेको निर्माण कम्पनी त्यसपछि सम्पर्कविहीन बनेको थियो । सरकारले पटक–पटक ताकेता गरे पनि निर्माण कम्पनीले पुल बनाउन वास्ता गरेन ।

पुल नबनाए नियमानुसार कारबाही प्रकृया अघि बढाउने चेतावनी दिएपछि निर्माण कम्पनीले २० दिनअघिबाट काम सुरु गरेको हो ।

भू–बनोट र दक्ष कामदार अभावका कारण समयमा काम गर्न नसकिएको भन्दै अब भने २ वर्षभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको निर्माण व्यवसायी श्याम पाख्रिनको भनाइ छ  ।

२० करोड ९० लाख रुपैयाँको लागत रहेको पुलमा ६२ वटा पिलर रहने छन्  । पुलको अभावमा सुस्ता क्षेत्रका स्थानीयलाई आवतजावत गर्न निकै समस्या भएपछि पुल निर्माण गर्न लागिएको हो ।

नदीको बीचमा पिलर बनाउनका लागि नारायणीको पानीलाई अर्को स्थानबाट लगेर काम सुरु गरिने इन्जिनियर अशोककुमार मण्डल बताउँछन् ।

निर्माण हुन लागेको पुलको लम्बाई १ हजार ५ सय ७१ मिटर र चौडाइ १.६ मिटर रहने बताइएको छ । यसलाई नेपालकै लामो झोलुङ्गे पुल हुने दाबी गरिएको छ ।

पुल निर्माण कार्यले गति लिने भएपछि स्थानीयहरुसमेत उत्साहित भएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको भनाइ छ ।

२ सय ६५ घरधुरी रहेको सुस्ता गाउँमा कूल ३ हजार १ सय ३३ जनसंख्या छ । सुस्ता गाउँपालिका– ५ को सकरदिनबाट निर्माण सुरु भई सुस्ता गाउँको बाँधमा गएर पुल टुगिंने छ ।

पुल नहुँदा सुस्तावासीहरु दैनिक उपभोग्य सामाग्री खरिददेखि स्वास्थ्य उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेकोमा अब भने त्यो हट्ने भएको हो ।