Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


जयवागेश्वरीको मन्दिरमा भित्तेचित्र फेला


0
Shares

काठमाडौं, पुस ११ । पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर पुनःनिर्माणका लागि भत्काउँदा मन्दिरभित्र रहेको अर्को मन्दिरमा पुरातात्विक महत्वका भित्तेचित्र फेलापरेको छ ।

शुक्रबार मन्दिरको पछाडिको भित्तामा विभिन्न देवी–देउताका तान्त्रिक चित्रकला भेटिएको हो ।

केही दिनअघि मन्दिरको अघिल्लो भागमा पनि यस्तै चित्रकला फेलापरेका थिए । यी चित्रकला लिच्छविकालीन हुनसक्ने जनाइएको छ ।

पुरातत्व विभागका कर्मचारीहरुले चित्रकलाको सुरक्षाका लागि भन्दै संवेदनशीलता अपनाइ काम गर्न निर्देशन दिएपछि शुक्रबार केही युवा पुनःनिर्माणमा अवरोध गर्न खोजेको भन्दै आक्रोशित बनेका थिए ।

पुरातात्विक संवेदनशीलतालाई ध्यान नदिइ जथाभावी तरिकाले मन्दिर भत्काउने काम भइरहेको स्थानीयको आरोप छ ।

स्थानीय वासिन्दा जलदराज वैद्यले यो मन्दिर पशुपतिनाथ मन्दिरभन्दा पनि पुरानो भएकाले यस मन्दिरमा रहेका पुरातात्विक वस्तुहरुको संरक्षण र अनुसन्धान गर्नुपर्ने बताए ।

कलाकार एकराम सिंहले चित्रकला पुरातात्विक महत्वको भएको भन्दै यसको संरक्षण जसरी पनि गर्न र यो नेपालको चित्रकलाको इतिहासका लागि महत्वपूर्ण भएको बताए ।

गएको भदौमा मन्दिरभित्र पुरातात्विक महत्वका तीनओटा गजुरसहितको इँटा र माटोले निर्मित सानो मन्दिर फेलापरेको थियो ।

जयवागेश्वरीको मन्दिरमा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको थियो ।

लिच्छविकालीन यो मन्दिरभित्र जयवागेश्वरीको मूर्तिसहित दायाँ भैरव र बायाँ हात्तीको टाउको नभएको भैरवको जस्तो रातो गणेशको मूर्ति रहेको छ ।