Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


क्यानडाको ‘अवार्ड‘ मा नेपालीको मनोनयन


0
Shares

काठमाडौं । सन २०२१ को ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ का लागि नेपाली भाषी समाजसेवी–पत्रकार ज्योति वैद्य मनोनयनमा पर्नुभएको छ।

क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरूको नेटवर्क ‘पिलार’ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुनुहुन्छ ।

दुई हजार डलर राशीको सो विधाको मनोनयनमा अन्य दुई गैर नेपाली भाषी लिरोय हिबर्ट र सारा लोम्यान पनि परेका छन् । मनोनयनमा परेका तीन व्यक्ति मध्येबाट एकलाई विजेताको रुपमा घोषणा गरिने छ । सो रकम विजेतालाई नभई विजेताले छानेका स्वयंसेवी संस्थालाई सोझै उपलब्ध गराइन्छ । ‘पिलार कम्युनिटी लिडरशिप अवार्ड’ का लागि कार्तिक १५ (नोभेम्वर १ ) सम्म मतदान गर्न पाइन्छ भने यसको नतिजा मंसिर २ गते ( नोभेम्वर १८ ) प्रकाशित हुनेछ ।

यस ‘पिलार’ नेटवर्कले समाजमा सकारात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई अवार्डका लागि योग्य ठानेर छनाेट गर्ने गर्दछ । लिडरसीप विधाबाहेक नेटवर्कले ‘कम्यूनिटी इनोभेशन’, ‘कम्यूनिटी इम्प्याक्ट’, ‘कम्यूनिटी कोलाबोरेशन’ र ‘कम्यूनिटी च्वाइस’का विधामा पनि पुरस्कार प्रदान गर्दछ।

वैद्यले विगत ४० वर्षदेखि नेपाल र क्यानडामा रहेर सामाजिक क्षेत्रमा स्वयंसेवी नेतृत्वकारी भूमिका प्रदान गर्दै आउनुभएको छ ।

नेपालमा भूकम्पबाट क्षति भएका भौतिक संरचनाको निर्माणमा महत्वपूर्ण योगदान गरेको, क्यानडामा रहेका नेपाली भाषी भुटानीहरूकाे आधारभूत आवश्यकताको व्यवस्थापन, कोभिड-१९ का बारेमा सचेतना अभिवृद्धि, खोप व्यवस्थापन र खोप लगाउन अभिप्रेरित गरेको, क्यानडामा रहेका नेपाली तथा भुटानीहरूको सांस्कृतिक तथा भाषिक क्षमता अभिवृद्धि गराउने लगायत अनेकौं क्षेत्रमा सफल नेतृत्व प्रदान गरेको आधारमा वैद्य मनोनयनमा पर्नुभएको हो ।

नेपालको पञ्चायती व्यवस्थाका विरुद्ध तथा प्रजातन्त्र प्राप्तिका लागि निडर र निर्भिक भई ‘मातृभूमि’ साप्ताहिक पत्रिका प्रकाशन गर्ने सो पत्रिकाका संस्थापक (प्रधान सम्पादक, नेपाल पत्रकार महासंघका पूर्व सभापति स्व. गोविन्द ‘वियोगी’ का छोरा ज्योति वैद्यले पत्रिकाको कार्यकारी सम्पादक भएर पनि काम गर्नुभएकाे थियाे । उहाँ नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

Skip This