Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


चरन क्षेत्रमा केरा खेती गरेपछि बदलियो किसानको आर्थिक अवस्था


0
Shares

 -सीता पाण्डे/ईमेज  

पाल्पा, पुस १० । निस्दी गाउँपालिका ७ अवस्थित कवुलियती वनमा केराको बगैचा मौलाएको छ । यसअघि खासै उपयोग हुन नसकिरहेको वन अहिले मनै लोभ्याउने किसिमले केराका बगैँचाले ढपप्कै ढाकिएको हो ।

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेका २७ घरपरिवारको बसोबास छ । सोही क्षेत्रको वनलाई ३ वर्षअघिसम्म गाई चराउनका लागि उपयोग गरिएकामा अहिले केराखेतीले हराभरा बनाइएको हो ।

कतै केरा पसाइरहेको र कतै पाकिरहेको देख्न सकिन्छ । हरियाली केरा बगैँचा वनका चराचुरुङ्गी तथा जीवजन्तु समेत रमाइरहेको देख्न सकिन्छ ।

तराईका फाँटमा जस्तै पहाडी जंगलमा पनि केरा खेती मौलाएको देखेर पुग्ने जोकोहीले आनन्द लिन सक्छ । अहिले ज्यामिरेका स्थानीयको सम्पत्ति त्यहीँ जंगल भएको छ ।

केराखेतीबाट ज्यामिरेवासीले ३ लाख रुपैयाँ कमाइसकेका छन् भने यो वर्ष पनि ५ लाख रुपैयाँ बराबरको केरा विक्री हुने कवुलियती वन समूहका अध्यक्ष रमन बहादुर सारुको भनाइ छ ।

१७ हेक्टर जंगलमा लगाइएका  २५ हजार केराका बोटमध्ये अहिले ८ हजारले उत्पादन दिन थालिसकेका छन् । यस बर्ष त्यसकै छेउछाउमा ४ हजार कागतीका विरुवा लगाउने तयारीे छ ।

यसअघि मगर समुदायको बस्ती रहेको ज्यामिरेमा खेती किसानी र पशुपालन बाहेक अर्काे आम्दानीको बाटो थिएन । राम्रो जंगलको रुपमा पनि फैलिन नसकिरहेको अवस्थामा व्यवस्थापन गरेपछि आयआर्जनको गतिलो माध्यम भएको छ ।

गाउँमै आयआर्जन गराउनुका साथै वन जंगलप्रति जनताको अपनत्व जगाउने अभियानका साथ कवुलियती बन कार्यक्रम संचालन गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख  मोहन प्रसाद पौडेल बताउँछन् ।

पाल्पामा १ सय १४ वटा कबुलियती वन कार्यक्रममार्फत टिमुर, तेजपात, अम्रिसो, केरालगायतका खेती गरि विपन्न परिवारलाई राहत मिलेको छ ।

कवुलियती वनमा नमुना केरा खेती गरेका कारण ज्यामिरे कवुलियती वनले यस बर्षको राष्ट्रिय कवुलियती वन पुरस्कार स्वरुप नगद १ लाख रुपैयाँ हात पारेको छ ।