Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आज खण्डग्रास सूर्यग्रहण, बिहान ८ बजेर ४२ मिनेटमा सुरु, ११ बजेर ३१ मिनेटमा सकिने, नाङ्गो आँखाले नहेर्न विज्ञहरुको सुझाव


0
Shares

काठमाडौं, पुस १० । पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ । नेपालमा बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु हुनेछ । ग्रहणको मध्य समय बिहान १० बजेर १ मिनेटमा हुनेछ भने ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय ११ बजेर ३१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्य ग्रहणको कुल अवधि  २ घण्टा ४९ मिनेट रहेको छ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ ।

आजको सूर्यग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देख्न सकिन्छ ।

ग्रहणलाई खुला आँखाले भने हेर्नु हुँदैन । दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिने खगोलशास्त्रीहरुले जनाएका छन् । ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।