Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


चितवनमा मिनी पानीजहाज : भीआइपी कक्ष, सेल्फी र फिल्म सुटिङको समेत सुविधा (भिडियो)


0
Shares

 -विकास पौडेल /ईमेज

चितवन, पुस ९ । भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा निर्माणाधीन मिनी पानीजहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

क्रुज सिप निर्माणको प्राविधिक काम सकिएको र अहिले बाहिरी डेकोरेशनको काम भइरहेको हो । आइतबार नारायणी नदीमा गरिएको मिनी पानीजहाजको परीक्षण सफल भएसँगै जहाज सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

जहाज निर्माणको प्राविधिक काम सकिएको र अहिले बाहिरी डेकोरेशनको काम भइरहेको छ । जहाज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको रिभर जहाज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

गएको दसैैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य रहेपनि डिजाइनमा केही परिवर्तन गरिएकाले समय र लागत बढेको हो । पहिलेको योजनामा नभएका क्रुज सिपमा भीआइपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटलगायतका सुविधा अहिले थपिएका छन् ।

डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्षको चैतबाट थालिएको थियो ।

करिब दुई सय जनाको क्षमता भएको जहाज  दिनमा तीन सिफ्ट सञ्चालन गर्ने योजना छ । प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ र त्यसमा काभ्रेघाटदेखि देवघाट र देवघाटबाट गोलाघाटको यात्रा गराइने बताइएको छ ।

नेपालमै पहिलो पटक सञ्चालनमा आउन लागेको क्रुज सिपले आन्तरिक तथा बाह्य पर्यटकका बसाइ लम्ब्याउने विश्वास रहेको ज्ञानेश्वर सामुदायिक वनका पुर्वअध्यक्ष सुरवीर पोखरेलको भनाइ छ ।

सन् २०२० लाई सरकारले पर्यटन वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा यो क्रुज सिप पनि एक कोशेढुंगा सावित हुने कम्पनीको विश्वास छ । जहाजकोे गति प्रतिघण्टा ३५ किलोमिटरसम्म हुनेछ ।

क्रुज सिप सञ्चालनपछि नारायणी नदी किनार पूर्ण रुपमा रिक्रिएसन सेन्टर बन्ने निर्माण पक्षको दाबी छ । जसको लागत १५ करोड रुपैयाँ रहेको बताइएको छ ।