Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


डडेल्धुराका महिला स्वरोजगार बन्दै, घर र व्यवसाय व्यवस्थापन गर्न चुनौती


0
Shares

– टेकराज अवस्थी/ ईमेज

डडेल्धुरा, पुस ८ । पछिल्लो समय डडेल्धुरामा महिलाहरु स्वरोजगार तथा आयआर्जनमूलक क्रियाकलापमा संलग्न हुन थालेका छन् ।

विभिन्न सीपमूलक तालिम प्राप्त गरी विभिन्न उद्यममा लाग्ने महिलाहरुको संख्यामा उल्लेख्य वृद्धि भए पनि त्यसलाई निरन्तरता दिन भने चुनौती देखिएको छ ।

आय आर्जनमूलक सिपहरु सिकेर व्यवसाय प्रवद्र्धन गर्न डडेल्धुराका महिला उद्यमीहरुले सक्रियता देखाएका छन् ।

जिल्लाको घरेलु उद्योग कार्यालयको तथ्यांकअनुसार कृषिजन्य उद्यमतर्फ १ सय ३६, सेवामूलक व्यवसायतर्फ ६१, उत्पादनतर्फ ३५, पर्यटनतर्फ १२ गरी जम्म दुई सय ४४ जनाले दर्ता गरेरै व्यवसाय सञ्चालन गरेका छन् ।

ग्रामीण क्षेत्रका स्थानीय बजार केन्द्रहरुमा साना तथा मझौला महिला व्यवसायीको संख्या बढ्दै गएको छ । जसमा होटल व्यवसाय, कोही श्रृृङ्गार तथा ब्युटीपार्लर, कोही किराना पसल, तरकारीलगायतका उद्यममा संलग्न भएको देखिन्छ ।

साना तथा मझौला महिला व्यवसायीलाई पारिवारिक जिम्मेवारीसँगै व्यवसायलाई निन्तरता दिन समस्या भइरहेको सामाजिक अभियन्ता भरत नेपालीको भनाइ छ ।

महिलालाई बालबालिकाको हेरचाह गर्नुपर्ने, खाना पकाउने, लुगा धुनेजस्ता घरासयी कामबाटै फुर्सत निकाल्न मुश्किल हुने गरेको छ ।

सुन्दर र समृद्ध परिवारको परिकल्पना गर्दै महिलाहरु व्यवसायका लागि अग्रसर भए पनि सोचेजस्तो उत्साहजनक अवस्था भने नरहेको महिला उद्यमी मीना फुलारा बताउँछिन् ।

व्यवसाय र  घरको व्यवस्थापन गर्न समस्या हुने भएपछि कतिपय सक्रिय उद्यमी पलायन भएको निराशाजनक अवस्था पनि देखिन्छ ।

यस्तो अवस्थामा सरकारी पक्षबाट केही राहत र परिवारबाट पनि उत्प्रेरणा दिनु आवश्यक देखिन्छ ।