Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


प्राध्यापक र कर्मचारीले नै गरे ‘केयु’ उपकुलपतिको कार्यालयमा तालाबन्दी


0
Shares

काभ्रे, पुस ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यलयमा सोमबार पुनः तालाबन्दी गरिएको छ ।

काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारी संघ र प्राध्यापक संघले तालाबन्दी गरेका हुन् ।

केयुको २५औं दीक्षान्तसभाबाट सम्झौतालाई अनुमोदन नगराएर प्राध्यापक संघ र कर्मचारी संघको पेसागत संगठन खोल्न पाउने र आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारबाट बन्चित गराएको उनीहरुको आरोप छ ।

यही पुस १५ गतेभित्र प्रा. डा. विजय केसीको संयोजकत्वमा बनेको कार्यदलले पेस गरेको केयु कर्मचारी संघ र केयु प्राध्यापक संघसम्बन्धी नियमको मस्यौदा अनुमोदन नगरिए विश्वविद्यालयका सम्पूर्ण गतिविधिहरु ठप्प पारी आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।

विवादका कारण गएको भदौमा पनि तालाबन्दी गरिएको थियो । केयु परिषद्ले सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको थियो ।

तीन महिनासम्म पनि सम्झौता कार्यान्वयन नगरिएको भन्दै प्राध्यापक र कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।