Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो


0
Shares

सिन्धुपाल्चोक, पुस ४ । सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सख्या १६ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भई काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत जिल्लाको बलेफी गाउँपालिका–३ निवासी सात वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उपचारका क्रममा मृत्यु भएकी बालिकाकी आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाँच्न सफल छ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालको रेखदेखमा राखिएको छ ।

बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो ।

बालिकालाई चाँडै नै अभिभावकको खोजी गरी जिम्मा लगाइने प्रनाउ काफ्लेले बताए ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो ।