Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


उर्लाबारी–तोरीबारी सडक अलपत्र छाड्दा सास्ती


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, पुस ४ । मोरङको उर्लाबारी–तोरीबारी सडकखन्डमा लामो समयसम्म पनि कालोपत्र नगरी अलपत्र छाड्दा स्थानीयलाई समस्या भएको छ ।

पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीका कारण कालोपत्र नहुँदै भत्किएपछि स्थानीय सास्ती खेप्न बाध्य भएका हुन् ।

मोरङको उर्लाबारीदेखि मधुमल्ला हुँदै तोरीबारीसम्म पुग्ने साढे १२ किलोमिटर सडक निर्माणको जिम्मा काठमाडौंको प्रेरा–ज्योति जेभीले लिएको थियो ।

जसमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको हो ।

सम्झौता भएको सात वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम पूरा गरेको छैन ।

कालोपत्र गरेको सडक निर्माण सम्पन्न नहुँदै भत्किएको स्थानीय सवारीचालक देवी खड्काको भनाइ छ ।

उक्त सडकमा ठेकेदार राजकिशोर गुप्ताले काम गर्दै आएका छन् । उनले ठेक्का सम्झौता गरेलगत्तै सडक भत्काएर छाडेका थिए ।

धेरै महिनासम्म काम रोकेपछि ठेक्का सम्झौता भएकै वर्ष ०६९ मा उर्लाबारी र मधुमल्लावासीले दबाबमूलक कार्यक्रमअन्र्तगत् रिले अनशनसमेत गरेका थिए ।

तरपनि अहिलेपनि सडकको अवस्था उस्तै रहेको मिक्लाजुङ गाउँपालिका वडा नम्बर–९ का अध्यक्ष सोमनाथ अधिकारी बताउँछन् ।

सडक डिभिजन कार्यालयले पनि तत्कालीन समयमा ठेकेदारले चरम लापरबाही गरेको निष्कर्ष निकालेर कारबाहीका लागि विभागमा पठाएको थियो ।

तर, अहिलेसम्म न त सडक बनाउने काम अघि बढेको छ न त ठेकेदारलाई नै कारबाही हुन सकेकोे छ ।

यता, पूर्वाधार विकास कार्यालय मोरङका सूचना अघिकारी राजेश्वर महतो ठेकेदार काम गर्न सहमत भएपनि अहिलेसम्म काममा नफर्किएको जवाफ दिन्छन् ।

मोरङको पूर्वी सिमाना उर्लाबारीबाट मधुमल्ला हुँदै उत्तरी भेगको समृद्धिको मेरुदन्डका रुपमा यो सडकलाई मानिन्छ ।