१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


जलवायू परिवर्तनका कारण देशभरका पोखरी सुक्न थाले, देउडी पोखरी सुक्दा सिँचाइमा समस्या


0
Shares

 -प्रकाश लिम्बु/ईमेज 

तेह्रथुम, पुष १ । जलवायु परिवर्तनसँगै बढ्दो तापमानका कारण विभिन्न क्षेत्रमा अवस्थित ऐतिहासिक पोखरीहरु सुक्न थालेका छन् ।

जसमध्ये तेह्रथुम जिल्लाकै पहिचानका रुपमा रहेको देउडी पोखरीको अस्तित्व पछिल्लो समय संकटमा पर्न थालेको हो  ।

तेह्रथुमको आठराई गाउँपालिकास्थित देउडी पोखरी दिनानुदिन सुक्दै गएको छ । पानीका मुहानहरु सुक्दै गएकाले पछिल्लो समय पोखरीको अस्तित्व संकटमा पर्दै गएको हो ।

केही वर्ष अघिसम्म पानीले टनाटन भरिएको पोखरी एकाएक सुकेपछि पोखरीभित्र झार तथा बुट्यान पलाउन थालेका छन् ।

तेह्रथुममा मात्र नभई पूर्वी नेपालकै महत्वपूर्ण पोखरीका रुपमा चिनिएको यो पोखरी अहिले नाममा मात्र सीमित हुन पुगेको छ ।

पानी भरिभराउ हुँदा माछापालन तथा वरपरका क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याएको पोखरीले अहिले आफ्नै अस्तित्व खोजिरहेको छ ।

पहिलेपहिले पोखरीको सौन्दर्यताबाट लोभिएकाहरु अहिले पुग्दा निराश भएर फर्किने गरेका छन् । अर्कोतिर पोखरी नजिकैको पञ्चकन्या मन्दिरको समेत संरक्षण हुन सकेको छैन ।

पोखरी र मन्दिरको संरक्षण गर्नुपर्ने स्थानीयको मागबमोजिम पोखरीमा पानीको व्यवस्थापन गर्ने आठराई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद ओलीको भनाइ छ ।

यस क्षेत्रका विद्यालय तथा संघ संस्थाहरु पनि यहीँ पोखरीको नामबाट नामाकरण गरिएको छ ।