Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


‘समाजमा स्थापित हुन असहज भयो हामी जंगल नै फर्कन्छौं’


0
Shares

– दुर्गा उपाध्याय/ ईमेज 

कञ्चनपुर, मंसिर ३० । जंगलमा फिरन्ते जीवन बिताएका राउटे जातिलाई समाजमा पुनस्र्थापना गराउन सरकारले विभिन्न कार्यक्रम ल्याएको छ ।

तर उनीहरुले भने सरकारी कार्यक्रमले आफूहरुलाई छुन नसकेको भन्दै पुनः जंगलमै फर्किनुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

४० वर्ष जंगलमा फिरन्ते जीवन बिताएका कञ्चनपुर भिमदत्त नगरपालिका ९ खल्लाका बटसिंह राउटे समाजमा पुनस्र्थापना भएको १८ वर्ष पुरा भयो ।

सरकारले ल्याएका विभिन्न कार्यक्रमले गर्दा २०५८ सालमा उनले फिरन्ते जीवन त्यागेका हुन् ।

३ छोरा, श्रीमती र एउटी बुहारी रहेका उनी  सिद्धनाथ सामुदायिक वनको छेउमा काठको टहरो बनाएर बसेका छन् ।

सरकारी कार्यक्रमले आफ्नो जीवनयापनलाई पर्याप्त नभएको र समाजमा स्थापित हुन असहज भएको भन्दै उनी पुरानै जीवनयापनमा फर्किने मनसायमा छन् ।

सरकारले कुनै व्यवस्था गर्न नसकेकाले जीविका चलाउन जंगलमै जानुपर्ने अवस्था आएको बटसिंह राउटेको भनाइ छ ।

सामाजिक जीवनयापनमा सहज होस् भनेर सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले मासिक भत्ताको पनि व्यवस्था गरेको छ ।

तर भत्ताकै भरमा जीवनयापन गर्न निकै धौधौ भएको उनीहरुको गुनासो छ । सरकारी भत्ताले रासन किन्न समेत नपुगेपछि ऋण खोजेर छाक टार्न बाध्यता भएको उनीहरु गुनासो गर्छन् ।

जंगलमा हुँदा तरुल, गिठा, भ्याकुर खाएर गुजारा गर्दै आएकामा अहिले सबै किनेर खानुपर्दा समस्यामा परेका अर्का स्थानीय जैलाल राउटे बताउँछन् ।

अर्कोतिर शिकार र कन्दमुल जीवनयापन गरेका उनीहरुलाई सामाजिक जीवनमा आम्दानी गर्ने कुनै किसिमको सीप छैन ।

जंगलमा काठका सामाग्री बनाएर जीविका धान्ने गरेका उनीहरु अहिले आफ्नो पेशा समेत संकटमा परको भन्दै चिन्तित छन् ।

त्यस्तै समाजमा आफूहरुलाई होच्याउँने गरेको पनि उनीहरुको गुनासो छ । राउटेहरुलाई समाजमा पुनस्र्थापना हुन भत्ता मात्र पर्याप्त नरहेकाले अन्य सीपमुलक कार्यक्रमको पनि व्यवस्थापन गरिनुपर्छ ।